हाम्रो बारेमा सामान्य जानकारी

श्रम सम्वन्धी न्यायिक विवादहरू सुनुवाई गर्न श्रम ऐन, २०४८ तथा श्रम अदालत कार्यविधि नियमावली २०५२ बमोजिम तत्कालीन श्री ५ को सरकार (मन्त्री परिषद) को मिति २०५२।०७।२७ को निर्णयानुसार काठमाण्डौमा मुकाम रहने गरी श्रम अदालत गठन भएको र यस अदालतको कार्य सञ्चालनको लागि श्रम अदालत (कार्यविधि) नियमावली, २०५२ को स्वीकृति भई सोही नियमावलीको नियम ३ (१) अनुसार एक सदस्यीय मुद्दा हेर्ने अधिकारीबाट श्रम सम्वन्धी न्यायिक विवादहरूको निरुपण हुँदै आएकोमा नेपालको संविधान (२०७२ ) को धारा १५२ तथा श्रम ऐन, २०७४ को दफा १५१ बमोजिम नेपाल सरकारको मिति २०७७।०६।२९ को निर्णय बमोजिम तीन सदस्यीय अदालतको गठन भएको र सोही अदालतबाट श्रम सम्वन्धी विवादको सुनुवाई गरी न्याय सम्पादन हुँदै आएको छ ।यस अदालतको मुकाम हालसम्म काठमाण्डौ जिल्ला अन्तर्गत अनामनगरमा रहेको छ। श्रम अदालत उच्च अदालत सरहको एक विशिष्टीकृत अदालत हो। यस अदालतले श्रमसँग सम्वन्धित विवादहरुको सुरु तथा पुनरावेदकीय क्षेत्राधिकार ग्रहण गर्ने कानूनी व्यवस्था रहेको छ।यस अदालतले श्रम ऐन, २०७४ बमोजिम सुरु मुद्दा हेर्ने तथा कानून बमोजिम श्रम तथा ब्यवसायजन्य सुरक्षा विभाग ,श्रम तथा रोजगार कार्यालय, प्रतिष्ठान वा रोजगारदाताले गरेको आदेश वा निर्णय उपरको पुनरावेदनको सुनुवाई गर्ने, ट्रेड युनियन ऐन, २०४९ तथा बोनस ऐन,२०३० बमोजिम विवादको सुरु तहको कारवाही र किनारा गर्नुका साथै रोजगार अन्त्य गर्ने गरी रोजगारदाताले गरेको कुनै निर्णय वा खराब आचरणका सम्बन्धमा सजाय दिने गरी गरेको निर्णय उपरसमेत पुनराबेदन सुनी विवादको किनारा गर्दै आएको छ।यस अदालतले विवादको सुरु कारवाही र किनारा गरेको फैसला वा अन्तिम आदेश उपर सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने र पुनरावेदनको रोहबाट विवादको सुनुवाई गरी गरेको फैसला वा अन्तिम आदेश अन्तिम हुने व्यवस्था रहेको छ। यस अदालतसँग सम्वन्धित कानूनहरु नेपालको संविधान, न्याय प्रशासन ऐन, २०७३, श्रम ऐन, २०७४, बोनस ऐन,२०३०, ट्रेड युनियन ऐन, २०४९, श्रम जीवी पत्रकार सम्वन्धी ऐन,२०५१, श्रम अदालत कार्यविधि नियमावली, २०५२ तथा श्रम नियमावली,२०७५ लगायत अदालतसँग सम्बन्धित विभिन्न ऐन तथा नियमावलीहरुको आधारमा न्याय सम्पादन हुँदै आएको छ। यसरी श्रमसँग सम्वन्धित न्याय प्रशासनलाई अझ बढी छिटोछरितो, ,सर्वसुलभ,मितव्ययी, निष्पक्ष, प्रभावकारी र उत्तरदायी एवं जवाफदेही बनाई गुणस्तरीय सेवाप्रवाह र न्यायिक सुशासन प्रवर्द्धन गर्ने हाम्रो दीर्घकालीन सोच र लक्ष्य ( Vision र Mission ) रहेको छ।